जनै पूर्णिमा मनाइँदै

हिन्दु धर्मावलम्वीहरूले जनै पूर्णिमा पर्व मनाउँदैछन । हरेक श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसदिनमा यज्ञोपवीत जनै तथा रक्षाबन्धन लगाउने गरिन्छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भन्ने मन्त्राेचारण सहित रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । भान्जा, ज्वाइँबाट समेत रक्षा बन्धन गर्ने चलन छ । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । यस्ताे खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय विश्वास छ ।

पछिल्लाे समयमा यस दिनमा राखी बाँध्ने चलन समेत प्रख्यात हुँदै गएकाे छ । विशेष गरी तराइ क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । छिमेकी मुलुक भारतमा राखी विशेष रूपमा मनाइन्छ ।

जनै पूर्णिमाका दिन पुण्यप्राप्तिका लागि भन्दै रसुवाको गोसाइँकुण्ड, लमजुङ र गाेर्खाकाे सीमानामा पर्ने दुधपाेखरी, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा भक्तजनहरू पुग्ने गर्दछन् ।

Facebook Comments