देशैभर सुनचाँदीकाे मुल्यमा एकरूपताका लागि छलफल
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो ।
गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने धारणा राख्नुभयाे ।
मन्त्री शर्माले आफ्नो गृह जिल्ला बाग्लुङमा अधिकांश कालीगढहरु भारतीय रहेको उल्लेख गर्दै स्वदेशी नागरिक नै कलाकौशलमा लाग्नुपर्ने सुझाव दिनुभयाे ।
‘बाग्लुङमा मैले देखेका कालीगढहरु प्रायः भारतीय छन्, उहाँले भन्नुभयाे, ‘मैले विस्तृत अनुसन्धान नै त गरेको छैन तरपनि बढी उनीहरु नै देखिन्छन् ।’ मन्त्री शर्माका अनुसार अब व्यवसायीले कालिगढ उत्पादनमा समेत ध्यान पु¥याउनुपर्छ ।
दक्ष कालीगढ उत्पादन गर्न मन्त्रालयले तालिमको व्यवस्था गर्ने बताउदै शर्माले महासंघलाई समन्वय गर्न आग्रह गर्नुभयाे ।
त्यस्तै, महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले देशमा विद्यमान व्यापार घाटाको परिपुर्ती गर्न सुनचाँदी जस्ता बहुमूल्य धातुको प्रवद्र्धन, बिस्तार र निर्यातमा ध्यान दिनुपर्ने बताउनुभयाे ।
गोष्ठीमा महासंघका महासचिव किसान सुनारले ‘महासंघको विगतको समीक्षा र आगामी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
महासचिव सुनारद्वारा प्रस्तुत कार्यपत्रमा सरकारसंग विभिन्न माग र महासंघको २७ बुँदे आगामी कार्यदिशा उल्लेख छ ।
सुन जस्तो क्यापिटल गुड्स र औद्योगिक कच्चा पदार्थलाई पनि पेट्रोलियम पदार्थ जस्तो उपभोग गरेर समाप्त हुने विलासीतापूर्ण वस्तुसँग दाँजेर आयात निरुत्साहित गरिएकोले अब यो व्यवसायलाई कसरी जिवित राख्ने भन्ने गम्भीर अवस्था सिर्जना भएको कार्यपत्रमा उल्लेख गरिएको छ ।
साथै, व्यवसायीहरुको हकहित तथा चेतना जागरणका लािग छुट्टै निर्देशिका मस्यौदा तयार गरी कार्यान्वयन गर्ने, देशव्यायीरुपमा महासंघले सुन तथा चाँदीको समान दर कायम गर्ने, सदस्य संघ तथा एशोसियट सदस्यहरु विस्तार गर्ने लगायतका बुँदा समावेश छन् ।

