त्रिभुवन विमानस्थलमा समस्या आए भैरहवामा आकस्मिक अवतरण गर्न सकिने
नेपाली आकाशमा उड्ने विमानहरुले आकस्मिक अवतरणका लागि छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यता अब हट्ने भएको छ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसँगै अव काठमाण्डौंमा आउने विमानहरुले भैरहवा विमानस्थलमा आकस्मिक अवस्थामा अवतरण गर्न सक्नेछन् ।
नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने निर्देशक इन्जिनियर प्रदिप अधिकारीले तीन हजार मिटर लामो धावन मार्गको कालोपत्रे गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्छ ।
विमानस्थलको निर्माण कार्य अन्तर्गत धावनमार्ग, टर्मिनल, टावर भवनको काम २०७६ असारसम्ममा सक्ने लक्ष्य रहेको छ । ट्याक्सी वेको काम अन्तिम चरणमा रहेको छ भने एप्रोन निर्माण भइसकेको छ । टर्मिनल भवन र टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्युपमेन्टका एरो थाइ कम्पनीले ठेक्का पाएको छ ।
विमानस्थलको सिभिल काम चीनको नर्थवेष्ट एभिएसनले ठेक्का लिएको हो । विमानस्थलको सिभिल काम सकिएपछि ढिलामा २०७६ को माघसम्म व्यावसायिक रुपमा नै सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलमा धावगनमार्ग तयार भएसँगै आन्तरिक उडानहरु अबदेखि नयाँ धावनमार्गबाटै हुने जनाइएको छ ।
एसियाली विकास बैंकको ऋण तथा सहायतामा विमानस्थल निर्माण शुरु भएको र लागत ९ अर्ब नाघ्ने निश्चित भएको छ ।

