विप्लव समूहमाथि याेजनाबद्ध कारवाहीकाे तयारी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई योजनावद्ध रुपमा कारवाहीकाे चेतावनी दिनुभएकाे छ । छन् । भरतपुरमा प्रहरी सहायक निरीक्षकहरुको दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री थापाले यस्ताे चेतावनी दिनुभएकाे हाे ।

गृहमन्त्री थापाले विप्लव समूहबाट सामाजिक सद्भाव र सुरक्षामा अवराेध हुन थालेको भन्दै योजनावद्ध रुपमा कारवाही गर्ने चेतावनी दिनुभएकाे हाे ।

गृहमन्त्री थापाले प्रहरी संयन्त्रले सुक्ष्म विश्लेषण गरी योजनावद्ध रुपमा विप्लव नेतृत्वकाे नेकपा लगायतका शान्ति सुरक्षा अमन चयनमा खलल पार्नेमाथि कारवाही गर्न कुनै कसर बाँकी नराख्ने जिकीर गर्नुभयाे ।

प्रहरीहरुले इमान्दारिता पूर्वक राष्ट्र र संगठनका लागि बगाएको पसिना कहिल्यै अवमूल्यन हुन नदिने गृहमन्त्री थापाले प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीले कुनै पनि कसर बाँकी नराखेको बताउनुभयो ।

उहाँले दीक्षित प्रहरी सहायक अधिकृतलगायत सम्पूर्ण प्रहरीहरुलाई इमान्दार भएर काम गर्न निर्देशन दिनुभयो । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा भएकाे कार्यक्रममा २१ महिलासहित ३०५ जना प्रहरी सहायक अधिकृतहरु दीक्षित भएका थिए ।

Facebook Comments