बाढी पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई ३ लाख राहत उपलब्ध गराइने
प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई तत्काल ३ लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०र१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरूलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुटन प्रदेशभरिका युवाहरूलाई आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
बाढी पहिरोका कारण सबै बाटोहरू अवरुद्ध भएकोले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले प्रदेशभरिकै जनजीवन प्रभावित भएको छ ।

