बामपन्थी नेता श्रीनाथ अधिकारीकाे शाेकसभा सम्पन्न
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा आज चितवनको पृथ्वीनागर, बरौजीमा पार्टीका दिवंगत नेता तथा पीवीएम श्रीनाथ अधिकारी (कमरेड श्याम)को शोकसभा सम्पन्न भएको छ ।
पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख उपस्थितिमा सम्पन्न शोकसभामा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता तथा दिवंगत नेता अधिकारीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

क्रान्तिकारी माओवादीका पीवीएम सागरको अध्यक्षतामा भएको शोकसभाको सञ्चालन पीवीएम अटलले गरेका थिए ।

नेता अधिकारीको फोटोमा माल्र्यापण गरी सुरु भएको शोकसभामा पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता अधिकारीका जेठा छोरा निश्चलले कमरेड श्यामको जीवनीदेखि उपचार प्रक्रियामा भए गरिएका प्रयासको बारेमा जानकारी गराउनुभएकाे थियाे ।
शोकसभामा प्रमुख अतिथि सीपी गजुरेल, सत्तारुढ नेकपाका नेता हितराज पाण्डे, नारायण दाहाल, हरिराज अधिकारी, भरतपुर महानगरकी मेयर रेनु दाहाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा दिवगंत नेता श्यामले पुर्याउनु भएको समग्र योगदानको विषयमा चर्चा गरेका थिए । उहाँको क्रान्तिकारी जीवनबाट कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनको पछिल्लो पुस्ताले धेरै कुरा सिक्नुपर्ने उनीहरूकाे भनाइ थियाे । शोकसभामा परिवारको तर्फबाट कमरेड श्यामकी कान्छी बहिनी शान्ता अधिकारीले मन्तव्य राख्नुभएकाे थियाे ।

नेता श्रीनाथ अधिकारी क.श्यामको असार २२ गते उपचारको क्रममा निधन हुन पुगेको थियो । नेता अधिकारीलाइ फाेक्साेकाे क्यान्सर भएकाे थियाे । पार्टीले गण्डकी प्रदेशमा पनि शाेकसभा गर्ने जनाएकाे छ ।

