आरक्षण सधैको लागि होइन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरक्षण सधैको लागि नभएको बताउनुभएको छ । पछाडि परेका जातजातिलाई अन्य जातजातिकै अबस्थामा पुर्याउनको लागि केही बर्ष आरक्षण भएपनि सधैको लागि आरक्षण नहुने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) गण्डकी प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनको उदघाटन गर्दे सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले लोकतन्त्रमा सवैको अधिकार बराबर हुने तर कसैलाई आरक्षण दिने कसैलाई नदिदा अन्याय गरेको जस्तो देखिएपनि यो लामो सयम सम्मको लागि नभएको बताउनुभयो ।

जनजाति पछाडि परेको कुनै नेताको कारण नभएर हाम्रो राज्यब्यवस्थाको कारण भएको भन्दै कुनैपनि नेतालाई गाली नर्गन आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले बादरको कथा सुनाउदै बादर नचाउदै हिड्ने चटकेले बादर दायाँ बायाँ गर्दा लाठ्ठीले पिटेर ठिक ठाउँमा ल्याउने गर्दा बादरलाई लागे छ , मलाई पिटने त्यही लठ्ठी हो भन्दै उस्ले लठ्ठी बाहेक अरु हेर्दे हेरेन , त्यस्तै हामीले पनि राज्य ब्यबस्थाको कारण आफुहरु पछाडि परेको नबुझेर खाली अमुख नेतालाई गालि गर्ने गरेको बताउनुभयो ।

सवैको चाहाना समृद्ध नेपाल खुशी नेपाली रहेकोले सवै मिलेमात्रै समृद्धि आउने बताउनु भयो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले लोकतन्त्र समावेशी खालको हुनु पर्ने भन्दै सञ्चार माध्यम समावेशी बनाउनु पर्नेमा जोड दिनुभयो ।

मन्त्री चुमानले सञ्चार सम्बन्धी ऐन नियम कानुन बनाउने अधिकार प्रदेशको एकल अधिकार भएपनि आधार र मापदण्ड संघले तयार पार्ने हुदा केही समस्या भएको बताउनुभयो । फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङले सञ्चार माध्यम पुर्णरुपमा समावेशी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले समावेशीता भनेको अधिकार भएको बताउनु भयो । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ती गुरुङ , तमुधिं नोपलका अध्यक्ष कर्म गुरुङ, पुरस्कार छनोट समितिका संयोजक सुरेन्द्र थापा मगर लगायतले बोल्नु भएको कार्यक्रममा यस बर्ष कर्म कर्ण जनजाति पत्रकारिता पुरस्कारबाट पुराना पत्रकार उदय बहादुर अमात्य सम्मानित हुनु भएको छ ।

उहाँलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नगद १५ हजार सम्मान पत्र र भाङग्राले सम्मान गर्नुभएको हो ।

Facebook Comments