देश बाहिर जाने र फर्कने यात्रुले ल्याउन/लैजान पाउने सामानकाे नयाँ सूची सार्वजनिक

सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रु तथा विदेशी नागरिकले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ ।

यसअघिकाे २५ जेठ ०७३ को सूचीलाइ विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरिएकाे हाे । अर्थ मन्त्रालयका अनुसार भन्सार ऐन २०६४ को प्रावधान अनुसार सूची सार्वजनिक गरिएकाे हाे ।

आगामी आर्थिक वर्षको बजेटले घोषणा गरेका केही प्रावधान भने १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ । नयाँ सूची अनुसार विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुन भन्सार महसुल तिरेर पास गराउन पाउने व्यवस्था गरेको छ ।

५० ग्रामसम्म सुनको गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया भने पूर्ण भन्सार छुटमा ल्याउन पाइने ब्यवस्था बजेट मार्फत् नै गरिएकाे छ ।

भारतीय सेना प्रहरीबाट सेवा निवृत्त भई निवृत्तिभरण पाउने गरी स्वदेश फर्कँदा निवृत्त भएको कागजात पेश गर्दा एक पटकका लागि ५० हजारसम्मका निजी प्रयोगका सामानमा पूर्ण भन्सार छुट दिइएको छ ।

कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको भन्ने प्रमाणित भए निज र निजको परिवारका पुराना सबै किसिमका सामान (सवारी साधनबाहेक) स्वदेश ल्याउँदा पूर्ण भन्सार छुट हुने भएको छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएका सामान अन्य व्यक्तिका नाममा जम्मा वा नामसारी गरी छुटाउन भने नपाउने व्यवस्था गरिएको छ ।

सरकारले तोकेको परिणामभन्दा बढी सामान लुकाई छिपाई ल्याउन खोजेमा त्यस्तो सामान जफत हुने र कारवाही प्रक्रियामा जाने जानकारी अर्थ मन्त्रालयले गराएको छ ।

विदेशबाट नेपाल आउँदा पूर्ण भन्सार छूट हुने वस्तुको सूची निम्न बमाेजिम रहेकाे छ ।

लुगाफाटो, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गरेका सामान, ५० ग्रामसम्म सुनका गहना, ५ सय ग्रामसम्मको चाँदीको गहना र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना गुरिया, ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेनड्राइभ एक/एक थान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको एक/एक उपकरण/वस्तु, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्म ।

विदेश जाँदा केके लैजान पाइन्छ ?

नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिइएको छ । वायुसेवा कम्पनीले यात्रुलाई लैजान छुट दिएको तौलसम्मको नेपाली बजारमा खरीद गरिएका सामान लैजान चाहे कानून बमोजिम शुल्क र महसुल तिरेर लैजान पाउने व्यवस्था गरिएको छ ।

जहाजबाट आउने-जाने यात्रुले बोक्न पाउने सामान

दूरविन, ट्यावलेट वा ल्यापटप, भिडियो क्यामरा र क्यामरा, पोर्टेवल म्युजिक सिस्टम एक/एक थान, लुगाफाटा, वरबिच्छ्यौना, घर गृहस्थीका सामान, घडी, साइकल, पेराम्बुलेटर र ट्राइसाइकल, सेलुलर मोवाइल एक/एक  थान, ५० ग्रामसम्मको सुनको गहना र १ सय ग्रामसम्मको चाँदीको गहना, पेशाकर्मीले आफूले गरी आएको कामका निम्ति ल्याएको उपकरण/सामान

विदेशी यात्रुले ल्याउन र लैजान पाउने सामान

एक लिटरसम्मको मदिरा वा १२ क्यानसम्म वियर, चुरोट २ सय खिल्ली, सिगार ५० खिल्ली, टोबाको २५० ग्राम, १० हजार रुपैयाँ मूल्यसम्मका औषधि (निषेधितबाहेक), ५ हजार रुपैयाँ मूल्यसम्मका खानेकुरा, २ हजार रुपैयाँसम्मका फलफूल, नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका मालवस्तु ।

Facebook Comments