कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

महाशाखाका अनुसार यतिबेला कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा पनि भैरहेको छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार दिउँसो र रातीकाे समयमा देशभर साधारणतया बादल लाग्नेछ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

मंगलबार दिउँसाे देशका पहाडी भू-भागका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना छ ।

त्यस्तै रातकाे समयमा कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा तथा कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments