बाढी, पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतीप्रति गण्डकी प्रदेश सरकारद्वारा दुःख व्यक्त
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरूङले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुवानबाट भएको मानवीय तथा भौतिक क्षतीप्रति दुःख व्यक्त गर्नुभएकाे छ ।
एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरूङले बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।
विज्ञप्तिमा घाइते हुनुभएका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवार-आफन्तजनप्रति समवेदना व्यक्त गरिएकाे छ ।
उहाँले विपद्को घडीमा वेपत्ता भएकाहरुको शीघ्र खोजी, उद्धार र राहतमा जुट्न सबैमा अनुरोध गर्नुभएकाे छ । विज्ञप्तिमा वर्षा याममा जुनसुकै समयमा पनि यस्तो प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन समेत सम्बन्धित सबै पक्ष लगायत आम नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा अपिल समेत गरिएकाे छ ।

