गृहमन्त्री सहितको टोलीद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

बाढी प्रभावित बनेको रौतहटको सदरमुकाम गौरमा पुगेको टोलीमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विकास समितिकी सभापति कल्याणी खडका, नेकपा नेता प्रभु साह तथा राजपा नेपालका संयोजक अनिल झा लगायत रहेका छन् ।

टोलीले हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको अवलोकन समेत गरेको थियो । गौरमा टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु सँग बस्तुस्थितिको बारेमा जानकारी लिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउन गर्नुपर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले भुन्नुभयो, ‘सरकारले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारीहरु गरिरहेका छौं, ‘जनधनको क्षति हुन नदिन हामीले काम गरिरहेका छौं । विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको स्तरमा पनि काम अगाडि बढाएको छ ।’

उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो । झाडापखाला जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गरेको उहाँको भनाई छ ।

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा पूर्वसूचना दिने प्रणाली रहेको र काम भइरहेको बताउनुभयो । जसले गर्दा क्षति न्युनीकरणमा सहयोग पुग्ने उहाँको भनाई रहेको छ ।

लाल बकैया र बाग्मती नदी उर्लिएर पसेको बाढीका कारण रौतहटको गौर आसपासमा ठूलो क्षति भएको छ । बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ भने बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा हजारौ नागरिक अहिले पनि विस्थापित छन् ।

तस्वीर ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनकाे फेसबुकबाट

Facebook Comments