कुखुराकाे खाेरमा पसेकाे चितुवा नियन्त्रण गरी पाेखरा जुलाेजिकल पार्कमा छाडियाे

पाेखरा महानगरपालिका वडा नं. १६ मा रहेकाे कुखुराकाे खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर पाेखरा जुलाेजिकल पार्क तथा बन्यजन्तु उद्दार केन्द्रमा राखिएकाे छ ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरको सिप्लेकुनाका स्थानीय सोभियतबहादुर केसीले पालेको कुखुराको खोरमा मंगलबार राती चितुवा पसेको थियो।

डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत शालिकराम पराजुलीका अनुसार चितुवालाई डार्टिङ (वन्यजन्तुलाई बेहोस बनाउन टाढैबाट सुइ हान्ने प्रविधि) गरेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हाे ।

कुखुरा पालक केसीका अनुसार मंगलबार राती चितुवा खोरमा पसेको थियो। तर केसीले विहान मात्र खाेरमा चितुवा देखेकाे जानकारी दिनुभयाे । केसीले खोरको ढोका बन्द गरेर चिुतवालाई भित्रै थुनेर वन कार्यालयमा जानकारी गराउनुभएकाे थियाे ।

प्रहरी सहितको वन प्राविधिक टोलीले केसीको घरमा पुगेर खाेरबाट चितुवा निकाल्ने प्रयास गरेपनि नमानेपछि डार्टिङ गरेर निकालिएकाे हाे ।

चितुवालाई नियन्त्रणमा लिनका लागि चितवनस्थित राष्ट्रिय निकुञ्जबाट डार्टिङ गर्ने प्राविधिक र चिकित्सककाे टाेलीले बुधबार डार्टिङ गरेर चितुवालाइ बाहिर निकालेकाे हाे ।

खोरमा कुखुरा डराएर एकै ठाउँमा जम्मा हुँदा ५/७ वटा मर्ने बाहेक चितुवाले केही नोक्सान नभएकाे जिल्ला बन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

डार्टिङपछि बेहोस भएको चितुवालाई उपचारपछि खोरमा थुनेर लेखनाथको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा पुर्‍याएर छाडिएकाे हाे ।

तस्विर हिमालय बख्रेलकाे फेसबुकबाट

Facebook Comments