त्रिवेणीदेवी कोषबाट ३१ जनाको अन्तिम संस्कारका लागि सहयोग प्रदान

राज शर्मा, पोखरा
मानिस जन्मेपछि मृत्यु अनिवार्य छ । कतिपय मानिसको नजिकका आफन्त कोही हुँदैनन । कतिपय आफन्त हुँदा पनि बृद्धाश्रममा आश्रय लिन बाध्य हुन्छन् । उनीहरुको निधन भएपश्चात् अन्तिम संस्कारमा सहयोग पुर्याउने उद्देश्यसहित पर्सा जिल्ला विरगन्ज घर भई लामो समयदेखि पोखरामा बस्दै आउनुभएका हरिश्चन्द्र शर्माले त्रिवेणीदेवी स्मृति अन्तिम संस्कार कोष सञ्चालनमा ल्याउनुभएको छ ।

आफ्नी दिवंगत आमाको स्मृतिमा शर्माले २०६५ सालमा ११ हजार ५ सय ६८ रुपैयाँबाट कोष शुरुवात गर्नुभएको हो । शर्माले हरेक बर्ष कोषमा रकम थप गर्दै आउनुभएको छ भने केही शुभचिन्तकहरुले पनि कोषमा रकम दिने गरेका छन् । कोषले आर्थिक बर्ष ०७५/७६ को असार मसान्तसम्मको आय व्यय सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको आय विवरण अनुसार अहिले कोषको निक्षेप बचतमा रु १ लाख ९२ हजार ८ सय ८६ रुपैयाँ रहेको छ भने चल्ती बचतमा रु १४ हजार १७ रुपैयाँ रहेको छ । गत आर्थिक बर्ष २०७५/७६ मा पोखरा बृद्धाश्रममा आश्रित ३ जना ज्येष्ठ नागरिकहरुको अन्तिम संस्कारका लागि कोषबाट रु ८ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको छ ।

शर्माले आफ्नी दिवंगत आमा त्रिवेणीदेवी शर्माको स्मृतिमा २०६५ साल मंसिरमा कोष संचालनमा ल्याउनुभएको हो । हालसम्म उक्त कोषबाट ३१ जना ज्येष्ठ नागरिकको अन्तिम संस्कारका लागि सहयोग गरिएको कोषका संचालक शर्माले जानकारी दिनुभयो ।

कोषले हरेक बर्ष आन्तरिक रुपमा आय व्यव विवरण सार्वजनिक गर्ने गरेको छ । कोषबाट दाह संस्कारमा समस्यमा भएमा जो कोहीले पनि सेवा लिन सक्नेछन् ।

कोषमा हालसम्म शर्माको परिवारको तर्फबाट १ लाख २३ हजार २ सय ४४ रुपैयाँ र अन्य २० जना सहयोगीबाट ५६ हजार ३८० रकम जम्मा भएको छ भने बाँकी ८३ हजार ८ सय ७५ रुपैयाँ बैंक व्याजबाट जम्मा भएको छ । अहिलेसम्म ५६ हजार ५ सय ९६ रुपैयाँ दाहसंस्कारका लागि खर्च भएको छ ।

Facebook Comments