बाढी पहिराेले विभिन्न जिल्लामा राजमार्ग अवरूद्ध

 पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी सञ्चालन हुन सकेकाे छैन ।

नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो ।

कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।

बागमती प्रदेशमा काभ्रेको कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा समस्या छ । रसुवामा मुख्य राजमार्गको सडक पूर्णरूपमा अवरुद्ध रहेको छ ।

नुवाकोटमा शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालन रोकिएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।

कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेतमा कर्णाली करिडोर पनि पूर्णरूपमा अवरुद्ध छ ।

Facebook Comments