तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएकाे छ ।

महाशाखाले हाल मौसमको अवस्था सम्बन्धमा जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदुृृपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल र बांँकी तराई भू-भागमा आंशिक बादल लागेको तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको उल्लेख छ।

शुक्रबार दिन तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार दिनकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ भने कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।

त्यस्तै देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । महाशाखाले  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएकाे छ ।

रातकाे समयमा  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाले कोशी र गण्डकी  प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुन सक्ने जनाएकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका केही, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा तथा कोशी  प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ ।

Facebook Comments