विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै
आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै छ । विहीबार नै वास्तुशास्त्र दिवस पनि मनाइँदैछ ।
समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका रूपमा विश्वकर्मा भगवानलाई लिने गरिन्छ । साेही कारण आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन्।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ।
आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् ।
यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाडौँको भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेख्य भिड लागेको छ ।
धार्मिक मान्यताअनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सिर्जना र पालनको भिन्न–भिन्न जिम्मेवारी दिएका थिए । सृष्टिको सिर्जना गर्ने आफ्नो कार्यभार सम्पन्न गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएकाे भन्ने मान्यता रहेकाे छ ।
विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । द्वापरयुगमा राक्षसहरूले भगवान् कृष्णलाई दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमा ‘भेद द्वारका’ निर्माण गरी लुकाएको भन्ने धार्मिक कथाहरूमा उल्लेख भएकाे पाइन्छ । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवता मानिन्छ । विश्वकर्माले बनाएको ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा अवस्थित रहेको विश्वास गरिन्छ ।

