विप्लव नेतृत्वकाे नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ
प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ ।
काठमाडौंको काँडाघारीबाट लामालाई प्रहरीले आइतबार मध्यरातमा पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले विशेष सूचनाको आधारमा लामा पक्राउ परेको जानकारी दिनुभयाे । उहाँका अनुसार लामालाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको हाे ।
प्रहरीले माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरेकाे छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।
सरकारसँग वार्ताकाे प्रयास भइरहेका बेला उपत्यकाका प्रभावशाली नेता पक्राउ परेपछि वार्ता प्रयास प्रभावित हुने देखिन्छ । विप्लव नेतृत्वका प्रभावशाली नेताहरूले प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता कार्यकर्ताकाे रिहाइ लगायतका माग राखेका छन् ।
फागुन २८ गते सरकारले विप्लव समूहलाइ प्रतिबन्ध लगाए यता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

