ब्रेकिङः बाढीले विजयपुर खोलामा रहेकाे डाइभर्सनमा क्षति

पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनमा क्षति पुगेकाे छ । डाइभर्सनमा क्षति पुग्दा मालावाहक सवारी आवागमन बन्द भएको छ ।

अाइतबार रातीकाे बाढीले गर्दा डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु हुन सक्ने बताइएकाे छ । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएकाे थियाे ।

अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा भने क्षति पुगेकाे छ ।

विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएकाे छैन ।

खोलामा बाढीमात्रै आएको र डाइभर्सनमा सामान्य क्षति पुगेकाले मर्मत भएपछि सोही ठाउँबाट लोडेड गाडीहरु आवतजावत गर्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

Facebook Comments