गाेर्खामा बामपन्थी नेता अधिकारीकाे श्रद्धाञ्जलीसभा सम्पन्न
नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा शनिबार गाेरखामा श्रद्धाञ्जलीसभा सम्पन्न भएकाे छ ।
बासु स्मृति प्रतिष्ठानले गरेकाे कार्यक्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, युवा नेता लेखनाथ न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि चितवनको पृथ्वीनागर, बरौजीमा पार्टीका दिवंगत नेता तथा पीवीएम श्रीनाथ अधिकारी (क.श्याम)को शोकसभा गरिएकाे थियाे ।
कार्यक्रममा सत्तारूढ नेकपाका साथै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ता तथा दिवंगत नेता अधिकारीका परिवारका सदस्य, नातेदार तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेता अधिकारीको फोटोमा माल्र्यापण गरी सुरु भएको शोकसभामा पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता अधिकारीका जेठा छोरा निश्चलले कमरेड श्यामको जीवनीदेखि उपचार प्रक्रियामा भए गरिएका प्रयासको बारेमा जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा दिवगंत नेता श्यामले पुर्याउनु भएको समग्र योगदानको विषयमा चर्चा गरेका थिए ।
उहाँको क्रान्तिकारी जीवनबाट कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनको पछिल्लो पुस्ताले धेरै कुरा सिक्नुपर्ने उनीहरूकाे भनाइ थियाे ।
शोकसभामा बाेल्ने वक्ताहरूले गाेर्खाकाे कम्युनिष्ट आन्दाेलनमा श्रीनाथ अधिकारी एक आदर्श विम्वकाे रूपमा रहिरहने बताएका थिए ।
कम्युनिष्ट आन्दाेलन अगाडि बढाउने सन्दर्भमा उपलब्ध हुन सक्ने भाैतिक सुख सुविधाकाे पछाडि नलागिकनै परिवारलाइ नै समावेश गरी आदर्श उदाहरणा बन्नुभएका श्याम संगठन र वैचारिक नेतृत्व प्रदान गर्नमा सफल रहनुभएकाे वक्ताले उल्लेख गरेका थिए ।
नेता श्रीनाथ अधिकारी क.श्यामको असार २२ गते उपचारको क्रममा निधन हुन पुगेको थियो । नेता अधिकारीलाइ फाेक्साेकाे क्यान्सर भएकाे थियाे । पार्टीले गण्डकी प्रदेशमा पनि शाेकसभा गर्ने जनाएकाे छ ।

