द्वन्द्वका पीडितहरुको समस्या समाधान गर्छाैंः मेयर जिसी

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले द्वन्द्व सकिएर देश संघीय गणतन्त्र बनिसक्दा पनि द्वन्द्वका पीडितहरुको अवस्था उस्तै रहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

जिसीले द्वन्द्वका वास्तविक पीडितको तथ्यांक संकलन गरी समस्या सुल्झाउन महानगर तयार रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकामामा गुरुयोजना बनाएर यो समस्या सुल्झाउन तयार रहेको उहाँको भनाई छ ।

मानवअधिकारका लागि महिला एकल महिला समूह कास्कीले शुक्रबार आयोजना गरेको ‘द्वन्द्वपीडित महिलाका सवाल’ विषयक प्रदेश स्तरीय छलफलमा मेयर जिसीले यस्तो बताउनुभएको हो ।

मेयर जिसीले बेपत्ता, एकल, मृत्यु भएकाहरुको परिवारको पीडा आफूले पनि महसुस गरेको बताउनुभयो ।

द्वन्द्व र शान्तिपूर्ण संघर्षकै परिणाम स्वरुप राज्य नयाँ संरचनामा गइसक्दा पनि समस्या नसुल्झिदा पीडितहरु थप आहात भएको बताउनुभयो ।

मानवअधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय कोषाध्यक्ष प्रतिभा विष्टले द्वन्द्व पीडित महिलाका समस्यालाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

द्वन्द्व पीडित जसोदा शर्माले बेपत्ताका परिवारले अनेक समस्या झेल्नुपरेको बताउनुभयो । अन्य द्वन्द्व पीडितले शिक्षा, स्वास्थ्य, उद्योग र सशक्तीकरणका लागि द्वन्द्व पीडितलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

Facebook Comments