नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्छौः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्ने बताउनुभएको छ ।
निगमलाई कुनैपनि हालतमा थला पर्न नदिने बताउँदै उहाँले निगमको सुधारका लागि सुझाव संकलनका लागि कार्यदल बनाएकोे र प्राप्त प्रतिवेदन अनुसार व्यवस्थापन गर्दै जाने उल्लेख गर्नुभयो ।
नेपाल भ्रमण वर्ष २०२० सचिवालयले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
मन्त्री भट्टराईले नेपाली जहाजलाई जुनसुकै आकाशमा सहजरुपमा उड्ने वातावरण निर्माण गर्ने समेत बताउनुभएको छ । उहाँले सम्बन्धित देशका प्रतिनिधिहरुसँग बसेर आवाश्यक छलफल गर्ने र सो देशको आकाशमा उड्नका लागि सहज वातावरण तयार गर्ने बताउनुभयो ।
भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले गत ६ महिनाबाट पर्यटक आगमनमा सुधार आउन थालेको भन्दै आफूहरुले ‘डिजिटल प्रमोसन’मा ध्यान दिएको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अवस्थामा पनि सुधार भइरहेको र पूर्वाधार विकासमा पनि काम भइरहेको दाबी गर्नुभयो ।
पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रको पूर्वाधारको विकास, बजारीकरणमा सुधार गर्नुपर्ने र नीतिगत सुधार गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

