निजगढ विमानस्थलमा लगानी नजुटे सरकार आफैंले निर्माण गर्छः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलका लागि विदेशी लगानी नजुटे सरकार आफैंले निर्माण विमानस्थल निर्माण गर्ने बताउनुभएकाे छ ।
मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी जुटेन भनेपनि विमानस्थल निर्माण कार्य अगाडि बढाउने बताउनुभएकाे हाे ।
उहाँले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुटाउन पहल भइरहेकाे र जुट्ने अवस्था नआए सरकार अब पछाडि नफर्कने जिकीर गर्नुभयाे ।
मन्त्री भट्टराईले वार्षिक २०/२५ अर्ब रुपैयाँ विनियाेजन गर्नु खासै ठूलाे कुरा नरहेकाे जिकीर गर्नुभयाे । यसैवीच मन्त्रालयले मङ्गलबार नै निजगढ विमानस्थलको लगानीका विषयमा लगानी बोर्डसँग पनि छलफल गर्ने भएकाे छ ।
मन्त्री भट्टराईले आगामी मङ्सिरसम्म निजगढ विमानस्थलको शिलान्यास गर्ने घोषणा गरिसक्नुभएकाे छ ।
निजगढ विमानस्थल बनाउँदा ठूलाे मात्रामा रूख काट्नुपर्ने र २ वटा बस्ती नै सार्नुपर्ने अवस्था छ । रूख काट्ने विषयमा विवाद रहेकाे छ । पर्यटन र वन मन्त्रालयवीच यस विषयमा विवाद छ ।
निजगढका रुख काट्नुअघि वृक्षारोपणको अभियान शुरु गर्ने भन्दै मन्त्री भट्टराईले आफू वन विनाश नगरीकनै विमानस्थल बनाउने उहाँकाे भनाइ छ ।

