पत्रकार हमाल पुनः पक्राउ, विराेधमा महासंघद्वारा ज्ञापनपत्र पेश
जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आज आदेश दिएको थियो । तर हमाललाई सर्वोच्च अदालतको गेटबाटै प्रहरीले पुनः पक्राउ गरेको हो ।
भदौं ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पत्रकार हमाललाई गिरफ्तार गरेको थियो । गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।
रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिसद्वय केदार प्रसाद चालिसे र डम्मर बहादुर खतिवडाको ईजलासले पत्रकार हमालको पक्राउ–गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
यसैवीच नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले प्रदेशका जिल्ला शाखा मार्फत् आन्दाेलन गर्ने भएकाे छ ।
जस अनुसार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने र सरकारलाइ ज्ञापनपत्र पेश गर्ने कार्यक्रम तय भएकाे पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पाैडेलले जानकारी दिनुभयाे ।
बुधबार जिल्ला प्रशासन कार्यलय मार्फत् पत्रकार हमालकाे रिहाइकाे माग सहित ज्ञापनपत्र पेश गरिएकाे हाे ।
पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन, नेपालले आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् ।
जनपक्षीय पत्रकारमाथीको पटकपटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ विचार र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको आदेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको बताईएको छ ।
संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको बिरोध गर्न समेत आग्रह गरेको छ ।

