पोखराको मिटर ट्याक्सीमा देखिएको समस्या तुरुन्त हल गर्न अर्थ तथा विसास समितिको निर्देशन
पोखरामा गुडने मिटर ट्याक्सीमा समस्या देखिएको भन्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन दिएको छ ।
भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाविच प्रदेश सभा सचिवालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले पोखरामा मिटरमा ट्याक्सी नचल्दा सर्वसाधरण ठगिएको गुनासो आएको र संसदमै कुरा उठेकोले आफुहरुले सरोकारवालाहरु विच छलफल गरेको बताउनु भयो ।
ट्याक्सी ब्यबसायीहरुले अहिलेकै अवस्थामा मिटरमा ट्याक्सी गुडाउन नसकिने बताए पछि भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मिटरमा नगुड्ने ट्याक्सीलाई कारवाही गर्ने चेतावनी दिनु भयो ।
उहाँले भोलिदेखि मिटरमा नगुड्ने ट्याक्सी समात्न कास्की ट्राफिक प्रमुखलाई निर्देशन दिनु भयो । बस्नेतले ब्यबसायिले अहिलेको भाडामा मिटरमा गुड्न नसक्ने बताएको तर्फ भाडा समायोजन गर्नुपर्ने कुरा घुमारो तरिकाले स्विकार गर्दे संसदमा यातायात विधेयक रहेको र वैज्ञानि भाडा समायोजन गर्न एक समिति पनि निर्माण गरेको बताउनु भयो ।
प्रदेशको कानुन नबन्ने बेला सम्म संघिय कानुन अनुसारनै भाडादरमा मिटरमा ट्याक्सी सञ्चालन गर्न आग्रह गर्नु भयो । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले समय अनुसारनै भाडा समायोजन हुनुपर्ने बताउनु भयो । मिटर लाए चालक सकियो नलाए यात्रु सकियो भने जस्तो भएको उहाँको भनाई थियो । उहाँले २०६९ साल देखि बैज्ञानिक भाडादर लागू नभएको बताउनु भयो । अध्यक्ष तिवारीले ट्याक्सी चढेपछि शुरुमा एक लिटर पेट्रोलको मुल्य र पछि पल्स अनुसार १४ रुपैयाको दरले भाडा भए मात्र ट्याक्सी मिटरमा गुडाउन सकिने बताउनु भएको थियो ।
यस्तै गण्डकी ट्याक्सी ब्यवासायी प्रालिका अर्जुन पौडेलले पोखराको सडमा ट्याक्सी मिटरमा गुड्न नसक्ने बताउनु भयो । उहाँले पोखरामा दुई तर्फी यात्रु पाउनै मुस्किल हुने उहाँको भनाई थियो । घाटा खाएर कसैले पनि सेवा दिन नसक्ने बताउनु भयो ।
नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले बैज्ञानिक भाडादर कायम गरेर कार्यान्वयनमा जानुपर्ने बताउनु भयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर क्षेत्री अधिकारीले आफ्नो भुमिका समन्वयको भएको भन्दै पोखरामा मिटरमा ट्याक्सी गुड्नु पर्नेमा जोड दिनु भयो ।
अर्थ तथा विकास समितिका सदस्य एवं सांसदहरु इन्द्रलाल सापकोटा,हरिशरण आचार्य , जनकलाल श्रेष्ठ,सरिता गुरुङ लगायतले आफुहरु ट्याक्सीमा चड्दा मिटरको कुरा गर्दा अपमानित हुनु परेको बताउनु भएको थियो । सांसदनै मोलमोलाई गरेर ट्याक्सी चढ्नुपर्ने अबस्था रहेको भन्दै प्रदेश सरकारले कानुन बनाएर ट्याक्सीको समस्या समाधान गर्नुपर्ने उहाँहरुको जोड थियो ।
उपभोक्ता समिति कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ट्याक्सी मिटरमा नचल्नु भनेको देशको कानुन मान्दिन भन्नुसरह भएको भन्दै मिटरमै ट्याक्सी गुड्नुपर्ने बताउनु भयो ।
कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्की र ट्राफिक प्रमुख मुराहरि मिश्रले सरकारले बनाएको नियममा सवै चल्नुपर्ने भन्दै मिटरमा नगुड्ने ट्याक्सी कारवाहीमा पर्ने बताउनु भयो ।



