नागरिकता विधेयकमा सत्तापक्ष र प्रतिपक्ष विभाजित
सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकमा सहमति जुट्न सकेको छैन ।
सरकारले ल्याएको विधेयकमा विदेशी बुहारीलाई ७ वर्षपछि र विदेशी ज्वाइँलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव रहेको छ ।
यही प्रस्तावमा सांसदहरुवीच मत विभाजन भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले विदेशी ज्वाईंलाई नागरिकता दिने विषय संविधानमा नरहेको बताएका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार गृह र कानुन मन्त्रालयले राज्य व्यवस्था समितिसँगको समन्वयमा तयार पारेको नागरिकता विधेयकको संयुक्त प्रतिवेदनमा विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिने प्रस्ताव गरिएको छ ।
विदेशी ज्वाइँले नागरिकता लिन चाहेमा निम्न शर्त पुरा गर्नुपर्ने हुन्छ ।
- नेपालमा १५ वर्ष नियमित बसोबास गरेको हुनुपर्ने
- विदेशी नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएको भए त्याग्नुपर्ने
- नेपालको कुनै राष्ट्रभाषा जानेको हुनुपर्ने
यसअघि अन्तरिम संविधान २०६३ मा भने विवाह गरेर आएपछि बुहारीले नागरिकता तत्काल पाउने प्रावधान रहेको थियो । काँग्रेसले ज्वाईंको हकमा संविधानमा व्यवस्था नभएको बताएपनि बुहारीको हकमा अन्तरिम संविधान बमोजिम हुनुपर्ने बताउँदै आएको छ ।
राज्यव्यवस्था समितिको शनिबारको बैठकमा दलहरुको सहमतिमा नै विधेयक पास गर्नुपर्ने आवाज सांसदहरुले उठाएपछि सहमतिको प्रयास गर्ने भन्दै बैठक स्थगित भएको छ ।

