श्रमजीवी पत्रकारहरुलाई दशैँ पेश्की र बाँकी पारिश्रमिक दिन महासंघकाे माग
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने भएकाे छ ।
बुधबार बसकाे महासंघकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । यसका साथै महासंघले श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक र दशैँ पेश्कीकाे व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
श्रमजीवी पत्रकारहरुलाई नेपाल सरकारले ताेकेकाे न्यूनत्तम पारिश्रमिक र दशैं भत्ता उपलब्ध गराउन महासंघकाे बैठकले माग गरेकाे हाे ।
काठमाडौंमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बैठक बसेकाे थियाे ।
साेही बैठकबाट पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउनका लागि माग गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयाे ।
यसैगरी बैठकले रेडियो नेपालमा कार्यरत पत्रकार सुनीता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्बहालीकाे माग गरेको छ ।
बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।
महासचिव विष्टका अनुसार बैठकले समाचार संकलनार्थ पत्रकारहरु सिंहदरबार सहज प्रवेशकाे व्यवस्था गर्न समेत माग गरिएकाे छ ।

