निर्वाचन प्रणालीको कारण भ्रष्टाचार बढ्योः डा.भट्टराई
पूर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संविधानका सबल पक्षलाई सम्बद्र्धन गर्दै दुर्बल पक्षलाई सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ ।
उहाँले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले संविधान जारी गर्ने बेलामा केही त्रुटी भएको बताउनुभएको हो ।
निर्वाचन प्रणाली खर्चिलो बनाइएकाले नै भ्रष्टाचार बढेको उहाँले जिकीर गर्नुभयो । यसर्थ भ्रष्टाचार न्युनीकरणका लागि निर्वाचन प्रणालीमा नै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
डा.भट्टराईले निर्वाचनमा करोडौं खर्च गर्नुपर्ने अबस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
सत्य सेतो या कालो होइन खैरो हुन्छ यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ । संविधानका सम्बन्धमा अतिवादी दृष्टिकोण आईरहेको छ ।
संविधानमा केही पनि सकारात्मक कुरा छैनन्, यसलाई च्यात्नुपर्छ र पुर्नलेखन गर्नुपर्छ भन्ने दृष्टिकोण र अनि सबैथोक यही संविधानले दिएको छ, सबैका अधिकार सन्तुष्टी गरेको छ भन्ने धारणा दुवै अतिवादी धारणा हुन्, डा. भट्टराईको भनाई थियो ।
नेपालको आर्थिक सामाजिक पछौटेपनलाई सम्बोधन गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको व्यवस्था नभएसम्म नेपालको प्रगति र असन्तुष्टी सम्बोधन हुन सक्दैनन्, डा. भट्टराईको भनाई रहेको छ ।
डा.भट्टराईले राज्यका सम्पत्तिको दोहन गरेर केही व्यक्तिमात्र रातारात धनी हुने खालको अबस्था अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सम्पत्ति र भूमिको स्वामित्वको सम्बन्धमा नयाँ अवधारणा विकास गर्नुपर्ने र कृषिमा आमूल परिवर्तन नगरेसम्म मुलुकको विकास र सम्बृद्धि सम्भव नहुने बताउनुभयो ।

