चिनीयाँ राष्ट्रपतिकाे भ्रमणकाे तयारी भइरहेकाे छः सञ्चारमन्त्री बाँस्काेटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनीयाँ राष्ट्रपति नेपाल भ्रमणमा अाउने निश्चित भएकाले तयारी भइरहेकाे बताउनुभएकाे छ ।
साथै उहाँले भ्रमणकाे मिति भने सार्वजनिक गर्न नमिल्ने बताउनुभयाे ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्ताे बताउनुभएकाे हाे ।
पत्रमार सम्मेलनमा पत्रकारले केही दिनअघि काठमाडौंमा चिनियाँ विदेशमन्त्रीसहितले नेकपा नेतालाई दिएको प्रशिक्षणबारे प्रश्न साेधेपछि उहाँले सत्तारूढ दल नेकपापथमै हिँडेको प्रष्टीकरण दिनुभयाे ।
‘नेकपा नेकपापथमै लागेको छ, कतैतिर ढल्केको छैन,’ सञ्चारमन्त्री बाँस्काेटाले भन्नुभयाे, ‘कोहीकोही कति छटपटिएका हुन्? नेताहरू नै रन्थनिएको देख्छु।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले नेकपा सी-पथतिर लागेको आरोप लगाउँदै आएका छन्।
मन्त्री बाँस्काेटाले चिनियाँ राष्ट्रपतिकाे सरकारले मात्र नभइ नेपाली जनताहरू समेत स्वागत गर्न आतुर रहेको बताउनुभयाे ।
अनावश्यक वादविवादतिर भन्दा सि काे भ्रमण सफल बनाउने र उपलब्धिमूलक बनाउन सबै लाग्नुपर्ने उहाँकाे भनाइ छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
२. मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिबाट हटाउने निर्णय गरिएको छ ।
३. एसिड आक्रमणबाट घाइते भएक जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।
४. चितवन जिल्ला, भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरिएको छ ।
५. नेपाली नागरिकहरू नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।
६. प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरिएको छ ।
७. उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।
८. नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने सम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ ।
९. नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्भौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
१०. शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
११. राजकीय अतिथी गृह निर्माण गर्न तयार गरिएको गुरूयोजना स्वीकृत गरिएको छ ।
१२. पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रूपैया नयाँदिल्लीस्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।
१३. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्दे्िशका, २०७५ स्वीकृत गरिएको छ ।
१४. एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

