चितवन मेडिकल कलेजलाई शुल्क फिर्ताका लागि २४ घण्टे अल्टिमेटम

चितवन मेडिकल कलेजले विद्यार्थीसँग गरेकाे सहमति कार्यान्वयन गर्नेतर्फ चासाे नदेखाएकाे चिकित्सा शिक्षा संघर्ष समितिले जनाएकाे छ ।

चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिका तर्फबाट विज्ञप्ती जारी गर्दै यसअघि भएकाे सहमति कार्यान्वयनका लागि माग गरिएकाे छ ।

साथै चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न २४ घन्टे अल्टिमेटम समेत दिइएकाे छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि समस्या समाधानका लागि कलेजका तर्फबाट कुनै पहल नभएकाे बताइएकाे छ ।

१० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने र साेही प्रतिवेदनका आधारमा शुल्क फिर्ता या समायाेजन गर्ने सहमति भएको थियो।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई सहमति कार्यान्वयनका लागि पहल नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विज्ञप्तीमा उल्लेख छ ।

यसपटक भने अभिभावक समेत संघर्षमा सहभागी हुने भएका छन् ।

Facebook Comments