सरकार नै मण्डले शैलीमा उत्रेकाे काँग्रेसकाे आराेप
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार नै मण्डले शैलीमा उत्रेकाे बताएकाे छ ।
काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा.मिनेन्द्र रिजालमाथि तनहुँमा एक कार्यक्रममा सहभागी हुने क्रममा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले आक्रमणको प्रयास गरेकाे भन्दै काँग्रेसले यस्ताे आराेप लगाएकाे हाे ।
तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि जाने क्रममा नेता रिजालमाथि जिल्ला नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेकाे काँग्रेसले जनाएकाे छ ।
नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको तथा हतियार र लाठीले आक्रमण प्रयास गरेकाे नेता रिजालले बताउनुभएकाे छ ।
नेता रिजालले प्रहरी प्रशासनको आडमा आफूहरूमाथि आक्रमण प्रयास भएकाे समेत जिकीर गर्नुभएकाे छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रममा अवराेध गरेकाे भन्दै विराेध जनाउनुभएकाे छ । कार्यक्रमका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा काँग्रेस नेता रिजाललाई अवरोध गरेको पाैडेलले विज्ञप्तीमा उल्लेख गर्नुभएकाे छ ।
नेता पाैडेलले पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको भन्दै घटनाकाे भत्र्सना गर्नुभएकाे छ ।
काँग्रेस केन्द्रीय कार्यालयले समेत विज्ञप्ती जारी गर्दै घटनाकाे विराेध गरेकाे छ ।
कांग्रेसको वक्तव्य भने यस्तो छ।
तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेको थियो। कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।
सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेस सबैलाई आग्रह गर्दछ । मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ। लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

