मेयर दाहालमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेमाथि उजुरी
भरतपुर महानगरपालिकाले मेयरविरूद्ध अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेकाे छ ।
चितवनमा शनिबार भ्रष्टाचार विरूद्धकाे कार्यक्रममा सहभागी हुने क्रममा ज्ञानेन्द्र शाहीमाथि भएकाे आक्रमणकाे घटनासँग जाेडेर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमाथि सामाजिक सञ्जालमा केहीले अश्लिल शब्द प्रयाेग गरी गाली गरेका थिए ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ ।
सामाजिक संजालमा मेयर दाहालका तस्विर जोडी अर्धनग्न तस्विर, फेसबुक स्टाटस र फेक आईडी बनाई पोष्ट गरेकाे पाइएपछि बाध्य भएर जाहेरी दिनुपरेकाे महानगरले जनाएकाे छ ।
अत्यन्तै निकृष्ट रुपमा महानगर प्रमुखको अपमान र चरित्र हत्या हुने गरी भ्रामक पोष्टहरु समप्रेषण हुनु आपत्तिजनक र अमानवीय व्यवहार भएकाले महानगरले कानुनी उपचार खाेज्नुपरेकाे स्पष्ट पारिएकाे छ ।
चितवन प्रहरी प्रमुख दानवहादुर मल्लका अनुसार महानगर प्रमुख रेनु दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टहरु बारे जाहेरी आएको छ । छानविनपछि दोषीलाई कानुनी कार्वाहीकाे प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रहरीले जनाएकाे छ ।

