त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ टाेलीद्वारा पूर्वपरीक्षण
चिनियाँ राष्ट्रपति सी जिन पिङकाे नेपाल भ्रमण तालिका अहिलेसम्म सार्वजनिक भएकाे छैन । तर पनि भ्रमणकाे तयारीमा नेपाली र चिनियाँ पक्ष जुटिरहेकाे छ ।
असाेज अन्तिम साता गर्ने सीले नेपाल भ्रमण गर्ने लगभग निश्चित जस्तै भएपछि साेकाे तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ।
भिभिआपी सवार हुँदा बोइङ विमानको उडान र अवतरणमा प्राविधिक समस्या नहाेस् भनेर चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो।
बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको थियाे ।
पूर्वअभ्यासकै लागि बुधबारको एयर ट्राफिक कन्ट्रोल रुम, नेपाल प्रहरी र विमानस्थलका कर्मचारीलाई अन्य दिनमा भन्दा बढी ‘हाई अलर्ट’ मा राख्दै भिभिआपी आएकै झल्को दिने गरी खटाइएको थियो।
बेइजिङबाट आएको विमान १ बजेर ३५ मिनेटमा अवतरण गरेर दिउँसो साढे ३ बजे फर्किएको थियो। सो विमान अवतरण हुने समय आसपासमा अन्य विमान उडान र अवतरणमा समेत रोक लगाइएको थियो।
सी असाेजकाे २५ र २६ मा भारत भ्रमणका लागि जाने कार्यक्रम तय भएकाे छ । साेही क्रममा नेपालकाे समेत भ्रमण गर्ने सीले नेपालमा एक रात बस्ने र २४ घण्टा समय विताउने बताइएकाे छ ।
लामाे अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ ।
त्यसकाे तयारीमा नेपाली र चिनियाँ सुरक्षाकर्मीले संयुक्त पूर्व अभ्यास समेत गरिरहेका छन् । चिनियाँ टाेली नेपालमा समेत सक्रिय भएर सिकाे सुरक्षाकाे चुनाैतिका बारेमा विश्लेषण गरिरहेकाे छ ।

