रात्रीभाेजमा चिनियाँ राष्ट्रपति सीकाे फाेटाे खिच्न नपाइने
चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रीभाेज दिने कार्यक्रम तय भएकाे छ ।
रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने गरी परराष्ट्र मन्त्रालयले अनुराेध गरेको छ ।
सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको रंगदेखि खाना खाने समयमा उठ्न नपाउने लगायतका कडा अनुशासन पालना गर्नुपर्ने भएकाे हाे ।
परराष्ट्र मन्त्रालयले अतिथिहरुले पालना गर्नुपर्ने नियम समेत निम्ताे कार्डमा उल्लेख गरेर बाँडेकाे छ ।
रात्रिभोजमा सहभागी हुने पुरुषहरुले नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी लगाउनुपर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनुपर्ने छ । जुत्ता भने तुनावाला कालो रंगको हुनुपर्ने छ । महिलाहरुलाई सारी वा गाढा रंगको सुट लगाउन मन्त्रालयले भनेको छ ।
भोजको बेला मोबाइल फोन अफ गर्न र तस्वीर नखिच्न समेत अनुराेध गरिएकेा छ भने खाना खान समेत प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र खानुपर्नेछ ।
चिनियाँ राष्ट्रपति सी हलबाट बाहिर निस्किएपछि मात्र अन्य अतिथिहरु आफ्नो स्थानबाट उठ्नुपर्ने निम्ताे कार्डमा उल्लेख छ ।


