पार्टी नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा चन्द नेतृत्वको नेकपाले संघर्ष गर्ने
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तारीको विरोधमा चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
सो पार्टीले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रम अनुसार कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५ गते कोणसभा र पिंढीसभा, कार्तिक ७ गते ओलीको पुत्ला दहन, कार्तिक ९ गते विरोध प्रदर्शन, कार्तिक १५ गते मसाल जुलुस र कार्तिक १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट प्रहरीले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास लगायत २१ जना लाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको पार्टीका महासचिव विप्लवले उल्लेख गर्नुभएको छ ।
साथै गिरफ्तारीप्रति घोर आपत्ति गर्दै तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी सो पार्टीले दिएको छ ।

