पार्टीभित्र फरक मत हुनु स्वभाविकः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फरक मत हुनुलाई स्वभाविक ?पमा लिनुपर्ने बताउनुभएको छ ।

नेकपाको सचिवालय बैठकको निर्णयमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ राखेको विषयमा अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गर्नुभएको हो ।

बाँकेमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले केही नाम प्रदेश प्रमुखका लागि प्रस्ताव गरेपनि समेट्न नसकिएको बताउनुभयो ।

उहाँले बरिष्ठ नेता नेपालको पार्टी निर्णयमा फरक मत रहेपनि निर्णय नै नमान्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओलीले प्रस्तावमा साक्षी बस्ने जस्तो गरी निर्णय गराइएको र मापदण्ड नपुगेकालाई पनि नियुक्त गरेको भन्दै फरक मत राख्नुभएको थियो ।

प्रदेश प्रमुखहरुको पदमुक्त र नयाँ नियुक्ति स्वभाविक रहेको भन्दै प्रचण्डले यसलाई ठूलो विषय बनाउन आवश्यक नरहेको बताउनुभयो ।

आफूले देशका विभिन्न स्थानमा भ्रमण गरेर जनताका सुझाव, पत्रकार बुद्धिजीविका सुझावहरुलाई सरकार समक्ष पुर्याउने काममा लागेको बताउनुभयो ।

Facebook Comments