कास्की २ मा हुने उपनिर्वाचनका लागि दलहरुको प्रचार तीव्र

कास्कीको निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि दलहरुको प्रचार अभियान तीव्र भएको छ ।

सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले पोखरा २१ का स्थानीय मतदाता भेटघाट गर्नुभएको छ । भट्टराईलाई पोखरा २१ जोड्ने पुलमा नै स्थानीयले स्वगत गरेका थिए ।

पोखरा–१७ र पोखरा–२१ जोड्ने पुल अघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले माला लगाउदै शिरमा हात राखेर आशिर्वाद दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘रविन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौ,’ ‘रविन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विद्या भट्टराईले जित हासिल गरेपछि जनचहानालाई शिर उपर गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले जनता र राष्ट्र भन्दा माथी कोही नभएको र जस्तासुकै चुनौतीको सामना गरेर भएपनि अगाडि बढ्ने बताउनुभयो ।

मतदाता भेटघाट कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद तथा युवा नेता राजिव पहारी, नेकपा पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा–२१ का वडा अध्यक्ष खगराज आचार्य, नेकपा पोखरा–२१ का अध्यक्ष कृष्ण थापा मगर लगायत नेताहरु सहभागी भएका थिए ।

त्यस्तै चुनावी प्रचार कार्यक्रम अन्र्तगत नै मंगलबार पोखरा १५ स्थित खरबारी टोलमा घरदैलो तथा कोणसभा गरिएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की सचिव एवं चुनाव प्रचार कमिटि वडा नं १५ का ईन्चार्ज बखान सिंह तमुले सूर्य चिन्हमा मतदान गरी उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

Facebook Comments