पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक: चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको र चिनियाँ नागरिकले लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।
नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा आउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
राजदूत होउले चिनिया पर्यटकको सुरक्षा ग्वारेन्टी र आपतकालीन सहयोग सहायता कक्ष निर्माण गर्न समेत सुझाव दिनुभयो ।
उहाँले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरवको आयोजना भएकाले यसलाई चाडै सम्पन्न गर्न स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
भेटका क्रममा पोखरा महानगरपालिकाका मेयर जिसीले चीन सरकारको लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले चिनिया कम्पनीलाई सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल बेजिङ हवाइ सेवा सुरु भएकाले नेपालसँगै पोखरा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास जिसीको छ ।
राजदूतले चाँसो व्यक्त गरेको तिब्बतियन शरणार्थी बारेमा मेयर जिसीले पोखरामा तिब्बतियन शरणार्थी भएपनि चिन विरोध गतिविधि हुन नदिने र त्यसप्रति सजग रहेको जानकरी गराउनुभयो ।
पोखराले पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन गर्ने तयारी गरेकाले चिनियाँ भाषाकक्षा सञ्चालन गर्न साझेदारीको लागि मेयर जिसीले राजदूतलाई अनुरोध समेत गर्नुभयो ।
राजदूत होउको ३ दिने पोखरा भ्रमणका क्रममा मेयर जिसीसँग भेटवार्ता भएको हो ।

