तराजुले सबैको न्याय गर्छ :उम्मेदवार केसी

साझा पार्टीका तर्फबाट कास्की २ मा उम्मेदवार बनेकी रजनी केसीले जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिने बताउनुभएको छ ।

उहाँले अब साझा पार्टीबाहेक अरु विकल्प नरहेको भन्दै तराजुले मात्र सबैको न्याय गर्ने बताउनुभयो ।

मंगलबार पोखराको सिद्धार्थ चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले कास्की २ का जनताले नेतृत्वलाई कमी कमजोरी सुधार गर्ने राम्रो अवसर पाएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जनताले कम्युनिष्ट र कांग्रेसको विकल्प खोजी रहेका छन्, विकल्प साझा पार्टी बन्न सक्छ ।

उहाँले भन्नुभयो, ‘घरदैलोमा जनतासँग संवाद गर्दा विकल्पको खोजी गरिरहेको मैले पाएँ, अब देशमा कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको साझा पार्टी मात्र हो ।’

नेताहरु भ्रष्टाचारी बन्दा देश बर्बाद भयो: संयोजक मिश्र

साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले ३० वर्षदेखि पालैपाले सत्ता चलाइरहेका नेताहरु भ्रष्टाचारी बन्दा देश बर्बाद पारेको बताउनुभएको छ ।

कास्कीमा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा संयोजक मिश्रले उपनिर्वाचनमा मत बदलेर देश विकासको सारथी बन्न आग्रह गर्नुभयो ।

मतदातालाई लक्षित गर्दै संयोजक मिश्रले भन्नुभयो, ‘कुनै पार्टी प्रति आस्था राख्नु हुन्छ भने उपनिर्वाचन पार्टीेले गरेका गल्ती सुधार्ने मौका हो ।’ साझा पार्टीले कहिँकतै गल्ती गरेको भए सुधार गर्ने मौका र सुझाव दिन उहाँको आग्रह थियो ।

सभामा बोल्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विकासका लागि राजनीति गर्ने नेताहरुका कारण नै विश्वका धेरै देशले छोटो समयमा परिवर्तनको गति लिएको बताउनुभयो ।

साझा पार्टीले मंगलबार पोखराको सिद्धार्थ चोक, गणेश टोल, महेन्द्रपुल, गैह्रापाटनलगायतका ठाउँमा कोणसभा गरेको थयो ।

Facebook Comments