मेडिकल कलेजले अझै शुल्क फिर्ता गरेनन्
मेडिकल कलेज संचालकले विद्यार्थीसँग ताेकेभन्दा बढी लिएकाे शुल्क फिर्ता या समायाेजन गर्ने प्रतिबद्धता पुरा गरेका छैनन् ।
मंसिर १० मा सरकारसँग शुल्क समायाेजन या फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेजले १ महिना बित्दासमेत शुल्क समायाेजन या फिर्ता नगरेका हुन् ।
विद्यार्थीहरूसँल लिएकाे शुल्क समायोजनमा चासो नदेखाएपछि चितवन मेडिकल कलेजका विद्यार्थीले थप आन्दोलन गर्ने भएका छन्।
कलेजका विद्यार्थीले शुक्रबार अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक आह्वान गरेपनि कलेजका सञ्चालक अनुपस्थित रहेका कारण छलफल टुंगाेमा पुग्न सकेन ।
मेडिकल कलेज सञ्चालक हरिशचन्द्र न्यौपाने बैठकमा नआएपछि छलफलले सार्थकता नपाएकाे विद्यार्थीले जनाएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयाेजक तथा साेही कलेजका विद्यार्थी प्रकाश चन्दले कलेज सञ्चालकले वार्तामा बस्न रूची नदेखाएपछि आन्दोलनमार्फत नै निकास खोज्ने तयारीमा रहेकाे जानकारी दिनुभयाे ।
शुल्क समायोजनमा कलेजले चासो नदेखाएकाे संयाेजक चन्दकाे भनाइ छ ।
काठमाडौंबाहिरका मेडिकल कलेजमा सरकारले ४३ लाख ५० हजार शुल्क तोकेको छ। सो शुल्कभन्दा बढी चितवन मेडिकल कलेजले ६ लाख २५ हजार उठाएको विद्यार्थीले बताएका छन्।
मेडिकल कलेजहरूले लिएको शुल्क र त्रिभुवन विश्वविद्यालयले तोकेको शुल्कमा धेरै फरक पर्ने गरेकाे छ। त्रिविले ४३ लाख ५० हजारबाहेक होस्टल शुल्क मात्र उठाउन पाइने भनेको छ।
तर देशभरका मेडिकल कलेजले होस्टल शुल्कबाहेक पनि विभिन्न प्रयोजन देखाएर अतिरिक्त शुल्क उठाउने गरेका छन्।
पटक पटक विद्यार्थीले आन्दोलन गरेपनि शुल्क विवाद भने समाधान हुन सकेकाे छैन ।

