पाँच प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको सबै भू-भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । महाशाखाले कोशी प्रदेशको तराई भू-भाग, बागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको उल्लेख गरेकाे छ।

आइतबार दिन तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाले कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

रातकाे समयमा मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments