माैसमः पश्चिमी वायु र चक्रवातको प्रभाव, शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने अनुमान छ। देशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेकाे छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमआँधीको जोखिम रहन सक्ने र पर्यटकीय क्षेत्रमा उच्च हिमाली भूभागमा जान जोखिम हुन सक्ने महाशाखाले जनाएको छ ।

