एनपिएल: आज २ खेल हुने

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन् ।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन् ।

एनपिएलकाे दाेस्राे संस्करणमा किंग्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

चितवन राइनोज अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको थियो । यसपालि चितवनले विदेशी खेलाडी सिकन्दर राजा र रवि बोपारा लिएकाे छ ।

दोस्रो खेल अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सिजनको विजेता जनकपुर दोस्रो सिजनमा प्लेअफ नै नपुगी बाहिरिएको थियो।

जनकपुरमा मोइन अली, जिमी निसम र इफ्तिखार अहमदजस्ता विदेशी खेलाडी खेल्दैछन् भने कर्णाली याक्समा डेभिड मिलर, साहिबजादा फरहान र हुसेन तलत लगायतका विदेशी खेलाडी छन् ।

Facebook Comments