आस्क नेपालको २९ औं वार्षिक साधारण सभा एवं बार्षिक सामाजिक परीक्षण सम्पन्न
सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र नेपालको आफ्नो २९ औं वार्षिक साधारण सभा समारोह तथा बार्षिक सामाजिक परीक्षण कार्यक्रम २०८३ आज पुतलीबजार स्याङ्जामा सम्पन्न भएको छ ।
२९ औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आँधीखोला गाउँपालिका, स्याङ्जाका अध्यक्ष विश्वनाथ पौडेलले संस्थाले लामो समयदेखि जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण, प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधि मैत्री शिक्षा, विपन्न समुदायको आय आर्जन तथा एकीकृत सामाजिक विकासका क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्नुभयो। उहाँले यी क्षेत्रमा संस्थाका गतिविधिले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
यस्तै बिशेस अतिथी आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले संस्थाले समयअनुकूल नीति तथा कार्यविधि निर्माण गर्दै सामाजिक परीक्षण, पारदर्शिता र जवाफदेहितालाई निरन्तर प्राथमिकतामा राख्नु सर्हानीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले संस्थागत विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रवर्द्धन गरेका प्रविधि तथा सफल अभ्यासहरूको विस्तारमा तीनै तहका सरकारले सहकार्य गर्न चाहेमा संस्था त्यसका लागि तयार रहेको बताउनुभयो।
यसै क्रममा संस्थाका टिम लिडर तथा कार्यकारी निर्देशक हरिप्रसाद ढकालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक तथा कार्यक्रमिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको वर्तमान अवस्था, आर्थिक वर्ष २०८३/०८४ का लागि संशोधित कार्यक्रम तथा बजेट, आर्थिक वर्ष २०८४/०८५ का लागि प्रस्तावित कार्यक्रम तथा बजेट र संस्थागत तथा कार्यक्रमिक विकासका लागि आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत तथा व्यवस्थापकीय विषयहरूबारे सभालाई जानकारी गराउनुभएको थियो भने सामाजिक परिक्षण प्रतिबेदनको प्रस्तुती सामाजिक परीक्षण संयोजक महेन्द्र लामिछानेले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त २९ औँ वार्षिक साधारण सभा एवं संस्थाको सामाजिक परीक्षण कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण प्रसाद शर्मा मरासिनी र कार्यक्रमको सञ्चालन सचिव कोषाध्यक्ष सीता पौडेल पोख्रेलले गर्नुभएको थियो ।

