चीनमा काेराेना भाइरस(काेभिड १९)काे चरम प्रकाेप नरहेकाे दावी
चीन सरकारले कोरोना भाइरस(कोभिड–१९) को चरम प्रकोपकाे अवस्था नरहेकाे जनाएकाे छ ।
पछिल्लाे समय चीनमा काेभिड-१९काे संक्रमणकाे दर न्यून हुँदै गएकाे छ ।
बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गरी चरम प्रकाेपकाे अवस्थाबाट जनजीवन सामान्य हुँदै गएकाे जानकारी दिएकाे हाे ।
आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको जानकारी दिनुभयाे ।
नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङकाे भनाइ छ ।
प्रवक्ता फेङका अनुसार भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको बताउनुभयाे ।
त्यस्तै बुधबार हुबेई बाहिर जम्ममा ७ जनामा संक्रमण देखिएको र त्यसमध्ये पनि ६ जनामा आयातित संक्रमण भएको बताइएकाे छ।
चीनमा बुधबारसम्ममा ३ हजार १ सय ६९ काे मृत्यु भएकाे छ । बुधबारमात्रै ११ जनाको मृत्यु भएको थियाे ।
चीनमा हालसम्म ८० हजार ७ सय ६९ जनामा संक्रमण देखिएको छ । चीनमा काेराेनाकाे संक्रमण नियन्त्रणमा अाएपनि युराेप र अमेरिका लगायतका मुलुकमा भने यसकाे संक्रमण बढिरहेकाे छ ।
गत डिसेम्बरमा चीनकाे वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमण अहिले विश्वका १२० भन्दा बढी देशमा फैलिइसकेको छ।
बिहीबार दिउँसोसम्म एक लाख २६ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले काेराेनाकाे संक्रमणलाइ विश्व महामारीकाे घाेषणा गरेकाे छ ।

