लकडाउन बैशाख ३ गतेसम्म थप गर्ने सरकारकाे निर्णय

नेपाल सरकारकाे साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।

बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोना भाइरसकाे संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो।

यसअघि सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो।

दोस्रोपटक थप गरेको अवधि भोलि सकिनु अगावै सरकारले फेरि लकडाउन अवधि थप  गरेको हो।

हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै मन्त्री परिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ भने संसदको जारी हिउँदे अधिवेशनको अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ।

Facebook Comments