राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न नपाइने
सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको छ। गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्ने भन्दै यस्ताे राेक लगाएकाे हाे ।
मन्त्रालयले बन्दाबन्दी सम्बन्धी मापदण्ड २०७७ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत नगर्न भनेको छ।
रातको समय पारेर मानिसहरूको अव्यवस्थित हिँड्डुल हुने संभावना रहेकाले याे प्रावधान राखिएको हो’, गृह सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयाे ।
विभिन्न सेवा प्रवाह गर्ने कार्यालय तथा व्यपार व्यवसाय गर्ने स्थानहरूमा २ मिटरको सामाजिक दूरी कायम गर्न र सरकारले ताेकेका मापदण्ड पुरा गर्न समेत अधिकारीले अनुराेध गर्नुभयाे ।
यसका साथै विवाह-ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठमा समेत १५ जनाभन्दा बढी भेला हुन नपाइने प्रावधान राखिएकाे छ ।
मालवाहक सवारी साधनमा चालक र सहचालक बाहेक अन्य यात्रुहरू लिएर हिड्न नपाइने व्यवस्था समेत लागू गरिएकाे छ ।

