एकै पटकमा ९ बच्चा जन्मिएपछि डाक्टर नै अचम्मित
माेराेक्काेकाे एक अस्पतालमा एक महिलाकाे काेखबाट एकै पटकमा ९ वटा बच्चा जन्मिएका छन् । ९ बच्चालाई जन्म दिने २५ बर्षीय हालिमा सिसे र बच्चाहरूकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे बताइएकाे छ । डाक्टरहरू एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै अचम्मित बनेका छन् । आमा र सबै बच्चाहरूलाई बचाउन मुस्किल हुन सक्ने बताइएकाे छ ।
अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी हालिमा सिसेले बच्चा जन्माएकाे जानकारी दिंदै उपचारका लागि सरकारले नै ब्यवस्था मिलाएकाे जनाएकाे छ ।
मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा ती महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गर्नुभएकाे छ । सिसेको मंगलबार अप्रेशन गरिएको थियो।
यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा देखिएपछि डाक्टरहरूकाे सुझाव अनुसार माेराेक्काेमा विशेष ब्यवस्था सहित उपचारकाे प्रबन्ध गरिएकाे थियाे । जसकाे लागि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी मोरोक्को पठाउने निर्णय गर्नुभएकाे थियाे ।

