नार्क प्रविधि गाउँ वरादीमा वृहत फलफूल बगैंचा स्थापना ।
तनुहुँको आवुँवरादी नार्क प्रविधि गाउँमा वृहत फलफूल वगैचा स्थापनाको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजना एवं वागवानी अनुसन्धान केन्द्र मालेपाट र राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले ,धनकुटाको सहआयोजनामा सुन्तला, कागती र मेकाडेमिया नटको ८ सय ५० वटा विरुवा लगाइएको हो ।
नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डाक्टर दीपक भण्डारी र भुमि ब्यवस्था कृषि सहकारी तथा गरीवी निवारण मन्त्रालका सचिव सबनम शिवाकोटी अर्यालले संयुक्तरुपमा सुभारम्भ गर्नुभएको हो ।
नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले नार्क प्रविधि गाउँहरुमा नयाँ नयाँ प्रविधि डेमोस्टेशन गर्ने र अन्य किसानहरुलाई पनि प्रविधि हस्तान्तण गर्ने योजना अनुरुप देशका सात प्रदेशमा सातवटा गाउँलाई नार्क प्रविधि गाउँ घोषणा गर्ने र उन्नत खेती प्रविधि प्राविधिक सहित किसानहरुलाई उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।
नार्क गाँउ घोषण संगै प्राविधिकहरुलाई चुनौती थपिएको उहाँको भनाई थियो । अनुसन्धान केन्द्रमा सफल भएको प्रविधि किसानको खेतबारीमा पनि सफल हनैपर्ने बताउनु भयो ।
गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि सहकारी तथा गरीवी निवारण मन्त्रालका सचिव सबनम शिवाकोटी अर्यालले नार्क प्रविधि गाउँको अवधारण महत्वपूर्ण रहेको बताउदै अनुसन्धान केन्द्रमा भएका नयाँ प्रविधि सिधै किसानको बारीमा पुग्नु राम्रो पक्ष भएको भन्दै किसानहरुले विरुवा संरक्षण गर्नुपर्ने र नार्कले प्राविधिक दिनुपर्ने बताउनुभयो ।
उहाँले उत्पादन संगै उद्योगसंग पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिप्रसाद उपाध्यायले विरुवा लगाउने मात्रै नभएर विरुवा बाट किसानहरुलाई आम्दानी लिन सक्ने बनाउने बताउनुभयो ।
पहिले सुन्तलामा आएको रोगले ठुला ठुला बगैचा नष्ट भएकोले अव प्राविधिक सहित बगैचा स्थापना गर्ने र किसानबारीमा फलफूलको बगैचा हरियाली बनाउने बताउनु भयो । किसानहरु जाग्नुपर्ने भन्दै आफुहरु प्रविधि दिनको लागि तयार रहेको बताउनुभयो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका काशीनाथ चिलवालले सुन्तला,कागती र मेकाडेमिया नटको ८ सय ५० वटा विरुवा लगाइएको जानकारी दिनु भयो । फलफूल मात्रै नभएर उन्नत खेती प्रविधि नार्क गाउँमा प्रर्दशन गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्ने कृषकहरुले प्राविधिकको विश्वासको आधारमा आफुहरुले नामै नसुनेको नयाँ मेकाडेमिया नट लगाएको प्रतिक्रिया दिएका थिए ।

