धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएकाे छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटककाे आगमन बढाउन प्रचार प्रसार जरुरी रहेको बताउनुभयाे ।
उहाँले धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयाे । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको थियो, अब पनि त्यही अनुसार प्रचार गर्न सक्नुपर्छ ।’
हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयाे ।
गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिइने बताउनुभयाे ।
रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।
मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीमात्र नभएर सभ्यतासमेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताउँदै डाइभर्सनले रामदीदेखि तलको भागको सुख्खा पार्ने र कालीगण्डकीको धार्मिक अस्तित्वलाई मेटाउने भएकाले विरोध गर्नुपरेको तर्क गर्नुभयाे ।
ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गर्ने उहाँकाे प्रतिबद्धता थियाे ।
स्थानीय बासिन्दासमेत रहनुभएका पूर्व सांसद शंकर पाण्डेले ऐतिहासिक थलो भए पनि आलमदेवीमा आवश्यकता अनुसार विकास हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे थियाे ।
उहाँले मन्दिरसम्म पुग्नका लागि सिंढी आवश्यक परेको, नेपाल एकीकरणका बेला र त्यसभन्दा अघिदेखिका महत्वपूर्ण हातहतियार मन्दिरमा रहेको र त्यसको संरक्षण जरुरी रहेकाे बताउनुभयाे ।
यसैवीच मुख्यमन्त्री पोखरेलले स्याङ्जाको कालीगण्डकी र गुल्मीको सत्यवती गाउँपालिका जोड्न कालीगण्डकीमाथि बनाइएको रुद्रबेणी पुल आइतबार उद्घाटन गर्नुभएकाे छ ।
उक्त पुल निर्माणका लागि करिब साढे ६ करोड रुपैयाँ खर्च भएको छ । २०६७ सालमा निर्माण सुरु भएको पुल २०७५ मा निर्माण सम्पन्न भए पनि उद्घाटन भएको थिएन ।
मुख्यमन्त्री पोखरेलले चापाकोट, गल्याङ, रुद्रबेणी सडकको स्तरोन्नतीको कामको शिलान्यास समेत गर्नुभएकाे छ । रुद्रबेणी खण्डको सडक स्तरोन्नतीका लागि यो वर्ष ३ करोडको ठेक्का लागिसकेको छ ।

