संघीयता संस्थागत गर्न महत्वपूर्ण काम भएकाे छ : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएकाे छ ।
मुस्ताङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरुसँगको अन्तक्रियाका क्रममा उहाँले उक्त कुरा बताउनुभएकाे हाे ।
सीमित स्रोत, साधन र जनशक्ति भए पनि बाटोघाटो, पुलपुलेसा निर्माण, उज्यालो प्रदेश कार्यक्रमदेखि एक घर एक धाराजस्ता नमुना कार्यक्रमहरु सञ्चालन गरी अधिकांशलाई सफल बताएको उहाँकाे दाबी थियाे ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘झट्ट हेर्दा प्रदेशले के काम गर्यो भन्नेजस्तो लाग्ला, संघीयतालाई संस्थागत बनाउन जगदेखि नै काम थाल्नु कम चुनौतीपूर्ण थिएन, तै पनि हामीले सक्दो काम गरेका छौं ।’

पूर्वाधार मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको भन्दै उहाँले काम गर्ने क्रममा भएका गल्ती कमजोरीलाई लिएर शासन व्यवस्थामाथि नै प्रश्न उठाउने बेला नभएको धारणा राख्नुभयाे ।
अन्तर्क्रिया सहभागीका प्रस्तुति र जिज्ञाशा सुनेपछि उहाँले शासन व्यवस्थालाई सुदृढ पार्दै नागरिकका अपेक्षा पूरा गर्न आफूले बिना पूर्वाग्रह कार्यसम्पादन गर्दै आएको बताउनुभयाे ।
कोरोला त्रिवेणी सडक प्रदेशकै लाइफलाइन रहे पनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काम अलपत्र परेकामा प्रदेश सरकारको ध्यानाकर्षण भएको मुख्यमन्त्री पोखरेलले बताउनुभयाे ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्रदेशले आफ्नो क्षमता अनुसार प्रहरीलाई स्रोत साधन सम्पन्न गराउनका लागि प्रयत्नरत रहेको भनाइ राख्नुभयाे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले गण्डकीका ५ जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) र पालिकाबीच नीतिगत विषयहरु बाझिएको भन्दै यो अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राख्नुभएकाे थियाे ।

